एकाइ दस : जनसङ्ख्या र यसको व्यवस्थापन
पाठ १. नेपालको जनसङ्ख्याको आकार र वृद्धिदर
१. जनसङ्ख्याको आकार भन्नाले के बुझिन्छ ?
उत्तर : कुनै एक निश्चित क्षेत्रमभा निश्चित समयमा बसोबास गर्ने बालबालिका, युवायुवती, वृद्धवृद्धाको जम्मा सङ्ख्यालाई जनसङ्ख्याको आकार भनिन्छ। अर्थात् कुनै पनि ठाउँको निश्चित समयको जनसङ्ख्या नै त्यस ठाउँको जनसङ्ख्याको आकार हो। वि.सं. २०७८ को जनगणनाअनुसार नेपालको जनसङ्ख्या २,९१, ६४, ५७८ रहेको छ। यो नै नेपालको जनसङ्ख्याको आकार हो ।
२. वि.सं. १९७७ र १९८७ को जनगणनामा नेपालको जनसङ्ख्या वृद्धिदर घटेर ऋणात्मक हुनुका कारण उल्लेख गर्नुहोस् ।
उत्तर : वि.सं. १९७७ र १९८७ को जनगणनामा नेपालको जनसङ्ख्या वृद्धिदर घटेर ऋणात्मक हुनुका कारण निम्न रहेका छन् :-
(क) वैज्ञानिक किसिमले जनगणना नहुनु
(ख) महामारीका कारण धेरै जनाको मृत्यु हुनु
(ग) मृत्युदर उच्च रहनु
(घ) प्रथम विश्वयुद्धमा गएका गोरखा सैनिक गणना हुनबाट छुट्नु ।
३. वि.सं. २०५८ देखि २०७८ सम्मको जनसङ्ख्याको अवस्था हेर्दा नेपालमा जनसङ्ख्या वृद्धिदर घट्दै गएको देखिन्छ। यसरी जनसङ्ख्या वृद्धिदर घट्नुका कारणको सूची बनाउनुहोस् ।
उत्तर : वि.सं. २०५८ देखि २०७८ सम्मको जनसङ्ख्याको अवस्था हेर्दा नेपालमा जनसङ्ख्या वृद्धिदर घट्दै गएको देखिन्छ ।
यसरी जनसङ्ख्या वृद्धिदर घट्नुका कारण निम्न छन् :-
(क) जन्मदरमा ह्रास आउनु
(ख) मृत्युदर कमी हुनु
(ग) स्वास्थ्य सेवा तथा सुविधाको विस्तार हुनु
(घ) विवाहको औसत उमेरमा वृद्धि हुनु (ङ) परिवार नियोजनका साधनको प्रयोगदर बढ्नु
(च) शिक्षा र चेतनास्तर बढ्नु ।
४. वि.सं. २०१८ देखि २०७८ सम्मको नेपालको जनसङ्ख्या वृद्धिदरको अवस्थालाई रेखाचित्रमा प्रस्तुत गर्नुहोस् ।
उत्तर : रेखाचित्र बनाउने ।
पाठ २. नेपालको जनसङ्ख्याको बनोट
१. जनसङ्ख्याको बनोट भनेको के हो ? उदाहरणसहित प्रस्तुत गर्नुहोस् ।
उत्तर : उमेर, लिङ्ग, भाषा, धर्म, पेसा, जातजाति, शैक्षिक स्थिति आदिका आधारमा गरिएको जनसङ्ख्याको वर्गीकरणलाई जनसङ्ख्याको बनोट भनिन्छ । २०७८ को जनगणनाअनुसार नेपालमा नेपाली भाषा बोल्ने ४४.८६ प्रतिशत, मैथिली ११.०५ प्रतिशत, भोजपुरी ६.२४ प्रतिशत, थारु ५.८८ प्रतिशत, तामाङ ४.८८ प्रतिशत र बाँकी अन्य विभिन्न भाषाभाषी बोल्ने मानिसहरू रहेका छन्। यो भाषाअनुसार जनसङ्ख्याको बनोट हो ।
२. नेपालको उमेरअनुसार जनसङ्ख्या बनोटको अवस्थालाई विश्लेषण गर्नुहोस् ।
उत्तर : नेपालमा वि.सं. २०६८ को जनगणनाअनुसार १४ वर्षसम्मको उमेर समूहमा कुल जनसङ्ख्याको ३४.९१ प्रतिशत रहेको थियो। त्यस्तै १५ देखि ५९ वर्षसम्मको सक्रिय जनसङ्ख्या ५६.९५ प्रतिशत रहेको थियो भने ६० वर्षमाथिको जनसङ्ख्या ८.१४ प्रतिशत रहेको थियो। यस जनगणनाअनुसार सक्रिय उमेरको जनसङ्ख्या बढी रहेको देखिन्छ। आश्रित जनसङ्ख्या सक्रिय जनसङ्ख्याभन्दा कम रहेको छ तर वि.सं. २०५८ को उमेरगत तथ्याङ्कअनुसार विश्लेषण गर्दा आश्रित जनसङ्ख्या वृद्धि हुँदै गएको देखिन्छ। त्यस्तै वि.सं. २०७८ को जनगणनाअनुसार १५ वर्षमुनिका उमेर समूहको जनसङ्ख्या २७.८३ प्रतिशत रहेको छ भने ६० वर्षभन्दा माथिको जनसङ्ख्या १०.२१ प्रतिशत रहेको छ। त्यस्तै १५ देखि ५९ वर्षउमेर समूहको सक्रिय जनसङ्ख्या ६१.९६ प्रतिशत रहेको छ। ६० वर्षभन्दा माथि र सक्रिय उमेरको जनसङ्ख्या बढेको देखिन्छ भने १५ वर्षभन्दा कम उमेर समूहको जनसङ्ख्या घटेको देखिन्छ । जनसङ्ख्या वृद्धिदरमा कमी आएसँगै यो अवस्था आएको देखिन्छ ।
३. शैक्षिक स्थितिअनुसार जनसङ्ख्याको बनोट भन्नाले के बुझिन्छ ? साक्षरतादर बढ्दै जाँदा देशको सामाजिक आर्थिक अवस्थामा पार्ने प्रभाव उल्लेख गर्नुहोस् ।
उत्तर : शिक्षाको अवस्थाअनुसार गरिएको जनसङ्ख्याको वर्गीकरणलाई शैक्षिक स्थितिअनुसार जनसङ्ख्याको बनोट भनिन्छ । यसमा साक्षर तथा निरक्षर र तहगत शैक्षिक अवस्थाअनुसार जनसङ्ख्याको वर्गीकरण गरिन्छ । वि.सं. २०५८ को जनगणनाअनुसार ५४.१ प्रतिशत व्यक्ति साक्षर रहेकोमा वि.सं. २०६८ को जनगणनाअनुसार साक्षरता प्रतिशत बढेर ६५.९ पुगेको थियौ।। पछिल्लो जनगणना वि.सं. २०७८ अनुसार नेपालको साक्षरता प्रतिशत बढेर ७६.२ प्रतिशत पुगेको छ। साक्षरता बढ्दै जाँदा देशको सामाजिक आर्थिक अवस्थामा पार्ने सकारात्मक प्रभाव निम्न छन् :-
(क) दक्ष र शिक्षित जनशक्तिमा वृद्धि हुन्छ ।
(ख) आयआर्जन क्षमतामा वृद्धि हुन्छ ।
(ग) सामाजिक सद्भाव कायम गर्न मदत मिल्छ ।
(घ) भेदभाव, कुरीति, कुसंस्कारमा कमी आउँछ।
ङ) गुणस्तरीय जीवनस्तरमा वृद्धि हुन्छ ।
( (च) जनसङ्ख्या वृद्धिदर कम हुन्छ ।
४. वि.सं. २०५८ को जनगणनामा कृषि पेसामा संलग्न मानिस बढी भएकामा पछिका जनगणनामा गैरकृषि पेसामा लाग्नेको सङ्ख्या बढ्दै गएको देखिन्छ ? यसका कारण के के हुन सक्छन् ? उल्लेख गर्नुहोस् ।
उत्तर : वि.सं. २०५८ को जनगणनामा कृषि पेसामा संलग्न मानिस बढी भएकामा पछिका जनगणनामा गैरकृषि पेसामा लाग्नेको सङ्ख्या बढ्दै गएको देखिन्छ। यसका कारण निम्न हुन सक्छन् :-
(क) रोजगारीका अवसरमा वृद्धि हुनु र रोजगारीमा विविधता कामय हुनु (ख) शिक्षित व्यक्तिहरूको सङ्ख्यामा वृद्धि हुँदा सरकारी तथा गैरसरकारी क्षेत्रमा नोकरी गर्नेको सङ्ख्यामा वृद्धि हुनु
(ग) वैदेशिक रोजगारमा जानेको सङ्ख्यामा वृद्धि हुनु
(घ) कृषिको आधुनिकीकरण र व्यावसायिकरण हुन नसक्नु
(ङ) युवाहरुमा कृषिप्रति आकर्षण नहुनु ।
पाठ ३. जनसङ्ख्याको वितरण
१. जनसङ्ख्याको वितरण भनेको के हो ?
उत्तर : जनसङ्ख्याको वितरण भनेको विभिन्न भौगोलिक क्षेत्र, प्रदेश, जिल्ला तथा स्थानीय तहअनुसारको जनसङ्ख्याको अवस्था हो ।
२. नेपालको भौगोलिक क्षेत्रअनुसार जनसङ्ख्याको वितरणको अवस्था उल्लेख गर्नुहोस् ।
उत्तर : नेपालको भौगोलिक क्षेत्रअनुसार जनसङ्ख्याको वितरणको अवस्था हेर्दा सबैभन्दा बढी जनसङ्ख्या तराई क्षेत्रमा रहेको छ। २०६८ को जनगणनाअनुसार तराईमा ५०.२७ प्रतिशत जनसङ्ख्या रहेको थियो। यो सङ्ख्या २०७८
को जनगणनामा आइपुग्दा वृद्धि भएर ५३.६१ प्रतिशत पुगेको छ। तराईमा १,५६,३४,००६ जनसङ्ख्या पुगेको छ। हिमाल र पहाडमा भने २०६८ को तुलनामा जनसङ्ख्या वितरणको अवस्था घटेको देखिन्छ। हिमालमा ६.७३ प्रतिशत
रहेको जनसङ्ख्या घटेर ६.०९ प्रतिशत पुगेको छ भने पहाडी क्षेत्रमा ४३.०१ बाट घटेर २०७८ मा ४०.३१ प्रतिशत पुगेको छ। (स्रोत: केन्द्रीय तथ्याङ्क विभाग)
३. भौगोलिक क्षेत्रअनुसार र प्रदेशअनुसार जनसङ्ख्याको वितरण समान रूपमा भएको पाइँदैन। यसका कारण उल्लेख गर्नुहोस् ।
उत्तर : भौगोलिक क्षेत्रअनुसार र प्रदेशअनुसार जनसङ्ख्याको वितरण समान रूपमा भएको पाइँदैन। यसका कारण निम्न छन् :-
(क) भौगोलिक विकटता
(ख) माटोको उब्जाउपन र सिँचाइको व्यवस्था
(ग) शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार लगायतका पूर्वाधारको निर्माणको अवस्था
(घ) रोजगारीका अवसरहरूको उपलब्धता
(ङ) सहरमुखी मानसिकता
(च) सुविधाभोगी प्रवृत्ति
(छ) कृषिको आधुनिकीकरण र व्यावसायिकरणको अभाव ।
४. नेपालमा रहेको जनसङ्ख्या वितरणको असमान अवस्थालाई कसरी न्यूनीकरण गर्न सकिन्छ ? सुझाव प्रस्तुत गर्नुहोस् ।
उत्तर : नेपालमा रहेको जनसङ्ख्या वितरणको असमान अवस्थालाई न्यूनीकरण गर्न निम्न उपाय अपनाउन सकिन्छ :
(क) सबै भौगोलिक क्षेत्र तथा प्रदेशमा विकासका पूर्वाधर गुणस्तरीय किसिमले निर्माण गर्नुपर्छ ।
(ख) गुणस्तरीय, सर्वसुलभ र निःशुल्क शिक्षा तथा स्वास्थ्यको व्यवस्था गर्नुपर्छ ।
(ग) देश तथा भूगोल अनुकूलको व्यावसायिक तथा रोजगारमूलक शिक्षाको व्यवस्था गर्नुपर्छ । (घ) कृषिको आधुनिकीकरण तथा व्यावसायिकरण गरी स्वरोजगार प्रवर्धनमा जोड दिनुपर्छ ।
(ङ) पर्यटकीय क्षेत्रको पहिचान, विकास र प्रवर्धन गर्नुपर्छ ।
पाठ ४. पारिवारिक योजना र गुणस्तरीय जीवन
१. पारिवारिक योजनाको परिचय दिनुहोस् ।
उत्तर : आम्दानी तथा अन्य स्रोतको उचित व्यवस्थापन तथा परिचालनबाट परिवारका सदस्यलाई सुखी जीवनयापन गराउने योजनालाई पारिवारिक योजना भनिन्छ। यस्तो योजना पारिवारिक जीवनलाई स्वस्थ र व्यवस्थित बनाउनका लागि आवश्यक पर्छ । परिवारका सदस्यहरूका बिचको सुमधुर सम्बन्धले उपयुक्त र व्यवस्थित पारिवारिक योजना निर्माण गर्न सहयोग गर्छ। यस्तो योजनाले नै स्वस्थ, सुखी र गुणस्तरीय जीवनयापन गर्न सहयोग पुग्छ ।
२. पारिवारिक योजनाअन्तर्गत गर्नुपर्ने कार्यको सूची बनाउनुहोस् ।
उत्तर : पारिवारिक योजनाअन्तर्गत गर्नुपर्ने कार्य :-
(क) आर्थिक स्रोत जुटाउने र उक्त स्रोतको उचित र सही परिचालन गर्नुपर्छ ।
(ख) आवश्यकताअनुसार बच्चा जन्माउने र उचित जन्मान्तर कायम गर्नुपर्छ ।
(ग) सामाजिक परिवेशमा समायोजन हुनु सामाजिकीकरणका क्रियाकलापमा सहभागी हुनुपर्छ । (घ) आपसी सरसल्लाह र निर्णयका आधारमा पारिवारिक जिम्मेवारी पूरा गर्नुपर्छ ।
(ङ) छोराछोरीको हेरचाह तथा शिक्षादीक्षाको व्यवस्था गर्नुपर्छ ।
(च) जेष्ठ नागरिकप्रति उचित स्याहार, हेरचाह र सम्मान गर्नुपर्छ ।
३. पारिवारिक योजनाले गुणस्तरीय जीवन प्राप्तिमा कसरी सहयोग पुयाउँछ ? उल्लेख गर्नुहोस् ।
उत्तर : व्यवस्थित पारिवारिक योजना नै गुणस्तरीय जीवनको मुख्य आधार हो। परिवारमा प्राप्त स्रोतलाई योजनाबद्ध र व्यवस्थित ढङ्गले उपयोग गर्न सकेमा खुसी र सुखी परिवार बनाउन सकिन्छ। खुसी र सुखी परिवारबाट परिवारका सदस्यका बिचमा सुमधुर सम्बन्ध कायम हुन्छ । यसबाट परिवारमा अनावश्यक खर्च घटाउँदै परिवारका सदस्य र आर्थिक स्रोतबिच समन्वय कायम गर्न मदत गर्छ। परिवारका सदस्य उद्यमशील बन्ने, परिवारको आकारप्रकार उचित रूपमा हुने, छोराछोरीको उचित पालनपोषण र रेखदेख हुने जस्ता कुरामा सहयोग पुगी सुखी र आरामदायी परिवार बनाउनमा सहयोग पुग्छ । त्यसैले व्यवस्थित पारिवारिक योजना नै गुणस्तरीय जीवनको आधार हो। यसले गुणस्तरीय जीवन प्राप्तिमा सहयोग पुयाउँछ ।
४. गुणस्तरीय जीवनका आधार उल्लेख गर्दै कुनै दुई आधारको छोटकरीमा व्याख्या गर्नुहोस् ।
उत्तर : गुणस्तरीय जीवनका आधार निम्न छन् :
(क) आधारभूत आवश्यकता परिपूर्ति
(ख) भोतिक जीवनस्तरका सूचक
(ग) मानव विकास सूचकाङ्क
(घ) स्वस्थ र दीर्घ जीवन
(ङ) खुसीपन वा आनन्दीपन
(च) सन्तानको भरणपोषण र शिक्षा
(क) आधारभूत आवश्यकता परिपूर्ति : व्यक्तिका आधारभूत आवश्यकता पूरा भएमा जीवनमा सुधार आउँछ। यसअन्तर्गत खाद्यान्न, आवास, लत्ताकपडा, शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता कुरा पर्दछन्। आधारभूत आवश्यकताअन्तर्गत
यी आवश्यकताको परिपूर्ति भएको हुनुपर्छ । (ख) भौतिक जीवनस्तरका सूचक यसअन्तर्गत पाँच वर्षमूनिको बाल मृत्युदर, औसत आयु र साक्षरता दर पर्दछन् । यस सूचकअनुसार ० देखि १०० अङ्कलाई आधार मानी बढी अङ्क प्राप्त गर्ने देशलाई उच्चस्तरको गुणस्तरीय जीवन भएको मानिन्छ ।
५. सन्तानको उचित भरणपोषण र शिक्षादीक्षाले कसरी गुणस्तरीय जीवनमा प्रभाव पार्छ ? उल्लेख गर्नुहोस् ।
उत्तर : सन्तान परिवारको महत्वपूर्ण पक्ष हो। गुणस्तरीय जीवन प्राप्तिका लागि परिवारको आकारलाई महत्वपूर्ण रूपमा लिइन्छ। तसर्थ आवश्यकताअनुसार बच्चा जन्माउने, जन्मान्तर कायम गर्ने, उचित रूपमा पालनपोषण गर्ने, शिक्षा, स्वास्थ्यको व्यवस्था गर्ने प्रमुख जिम्मेवारी आमाबुबाको हुन जान्छ । यससम्बन्धी महत्वपूर्ण निर्णयले छोराछोरीको भरणपोषण र शिक्षामा सहयोग पुग्छ। सन्तान जन्माएपछि उनीहरूको भरणपोषण र उचित शिक्षादीक्षाको व्यवस्था गर्नु आमाबुबाको पहिलो कर्तव्य हो। यसले गर्दा आफ्नो परिवारले गुणस्तरीय जीवन व्यतीत गर्छ भने भविष्यमा आफ्नो छोराछोरीको परिवारले गुणस्तरीय जीवन व्यतीत गर्दछ ।
पाठ ५. जनसङ्ख्या र वातावरणविचको अन्तरसम्बन्ध
१. जनसङ्ख्या र वातावरणबिचको अन्तरसम्बन्धको व्याख्या गर्नुहोस् ।
उत्तर : जनसङ्ख्या र वातावरण एकअर्कामा अन्तरसम्बन्धित छन् । वातावरणको संरक्षण गर्ने वा विनाश गर्ने भन्ने कुरा मानिसको हातमा रहेको हुन्छ। मानिसका लागि आवश्यक पर्ने सबै कुरा वातावरणबाट नै प्राप्त हुने गर्छ । स्वच्छ हावा, शुद्ध पानी, खाना जस्ता कुरा वातावरणबाट प्राप्त गर्न सकिन्छ। यसबाट मानिस सजिलै हुर्कन, बढ्न र आफ्ना आवश्यकता पूरा गर्न सक्छ । वातावरण प्रदूषित भएमा यसमले मानवलाई नै सबैभन्दा बढी असर गर्छ । वातावरण प्रदूषणको मूल कारण मानिस र मानिसका गतिविधि नै हो। वातावरणमा परिवर्तन ल्याउने मुख्य तीन कारण जनसङ्ख्या वृद्धि, प्राकृतिक स्रोतको अत्यधिक प्रयोग र सहरीकरण हुन् । तसर्थ जनसङ्ख्याले वातावरणमा प्रत्यक्ष प्रभाव पार्ने र वातावरणले जनसङ्ख्यामा प्रभाव पार्ने भएकाले एकअर्कामा अन्तरसम्बन्धित छन् ।
२. जनसङ्ख्या वृद्धिका कारणले कसरी वातावरण प्रदूषण हुन्छ ? उल्लेख गर्नुहोस् ।
उत्तर : जनसङ्ख्या वृद्धिका कारण सहर र बजार क्षेत्रमा मानिसहरूले जथाभावी फोहोर गर्ने अवस्था सिर्जना हुन्छ। गाडी र कलकारखानाबाट निस्केका धुँवा धुलोले वातावरण प्रदूषित बनाउँछ । मानिसमा चेतनाको कमीका कारण नदी, खोला र सडकमा जथाभावी फोहोर फाल्ने गर्छन्। नदी किनारालगायतका क्षेत्रमा अव्यवस्थित बसोबास बढ्ने हुँदा प्रदूषण बढ्छ । प्राकृतिक स्रोत तथा साधनको अत्यधिक दोहन हुन थाल्छ । अत्यधिक मानिस भएका ठाउँमा व्यवस्थापन गर्नेको ध्यान नपुग्न सक्छ। तसर्थ जनसङ्ख्या वृद्धिका कारण वातावरण प्रदूषण हुन्छ ।
३. वातावरण प्रदूषण नियन्त्रणका लागि व्यक्ति, परिवार, समुदाय र स्थानीय सरकारले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ? सुझाव प्रस्तुत गर्नुहोस् ।
उत्तर : वातावरण प्रदूषण नियन्त्रणका लागि व्यक्ति र परिवारको भूमिका
(क) सानो परिवारको अवधारणा कार्यान्वयन गर्ने
(ख) जथाभावी फोहोर नफाल्ने
(ग) नदी तथा खोलामा फोहोर नगर्ने
(घ) अरुलाई वातावरण संरक्षणका लागि सचेत बनाउने
समुदायको भूमिका :-
(क) समुदायका मानिसहरूलाई वातावरण संरक्षण र सरसफाइका लागि सङ्गठित बनाउने
(ख) सामुदायिक वन जिम्मा लिई संरक्षण गर्ने
(ग) खुला चरिचरण बन्द गर्ने गराउने
(घ) प्रदूषण गर्नेलाई जरिवानाको व्यवस्था गर्ने
स्थानीय सरकारको भूमिका :-
(क) वातावरण संरक्षणका लागि योजनाबद्ध रूपमा काम गर्ने
(ख) स्थानीय व्यक्ति, परिवार तथा समुदायसँग सहकार्य गरी काम गर्ने
(ग) वृक्षरोपण कार्यलाई प्राथमिकतामा राख्ने
(घ) वनजङ्गलको संरक्षणका लागि सामुदायिक वनको सङ्ख्या बढाउने
(ङ) वातावरण प्रदूषण नियन्त्रणका लागि प्रदेश तथा केन्द्र सरकारसँग समन्वय गरी काम गर्ने
(च) वातावरण संरक्षणलाई उच्च प्राथमिकता दिने ।
४. वातावरण संरक्षणका उपायको सूची बनाउनुहोस् ।
उत्तर : वातावरण संरक्षणका उपाय :-
(क) वातावरण संरक्षणसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन
(ख) खाली जमिनमा वृक्षरोपण तथा वनजङ्गल संरक्षण
(ग) उद्योग, कलकारखाना मानव बस्तीबाट टाढा स्थापना
(घ) व्यवस्थित सहरीकरणको विकास
(ङ) खोला, नदी जस्ता जलसम्पदाको संरक्षण
(च) बढ्दो जनसङ्ख्या नियन्त्रण
(छ) योजनाबद्ध र दिगो विकासमा जोड ।
पाठ ६. सामुदायिक स्वास्थ्य
१. सामुदायिक स्वास्थ्य भनेको के हो ? यसको महत्व उल्लेख गर्नुहोस् ।
उत्तर : सामुदायिक स्वास्थ्य भनेको समुदायका लागि समुदायकै व्यक्तिले समुदायमा रहेका स्वास्थ्य समस्या पहिचान गरी त्यसको समाधान गर्न एवम् व्यक्तिगत तथा वातावरणीय स्वास्थ्यमा सुधार ल्याउन गरिने क्रियाकलाप हो। स्वास्थ्य
शिविर, घरदैलो स्वास्थ्य सेवा, जुकाको औषधी खुवाउने कार्यक्रम, घुम्ती स्वास्थ्य शिविर जस्ता गतिविधिहरू सामुदायिक स्वास्थ्यसँग सम्बन्धित गतिविधिका उदाहरण हुन् ।
सामुदायिक स्वास्थ्य सेवाको महत्वलाई निम्न बुँदाका माध्यमबाट स्पष्ट बनाउन सकिन्छ :-
(क) समुदायमा स्वस्थ्य वातावरण सिर्जना गर्न सकिन्छ ।
(ख) समुदायको वातावरण सफा राख सहयोग पुयाउँछ ।
(ग) समुदायमा नै चेतना विकास गरेर वातावरण सफा राख्ने अभियान चलाउन
(घ) देश विकासका लागि आवश्यक पर्ने स्वस्थ जनशक्ति उत्पादन गर्न
(ङ) देशको कुना कुनासम्म स्वास्थ्य सेवा पुयाउन मदत गर्छ ।
(च) योजनाबद्ध रूपमा जनताको घरदैलोमा स्वास्थ्य सेवा पुयाउन सहयोग पुयाउँछ ।
२. सामुदायिक स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने उपाय उल्लेख गर्नुहोस् ।
उत्तर : सामुदायिक स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने उपाय निम्न छन् :-
(क) व्यक्ति, परिवार, समुदाय र राष्ट्रको संयुक्त प्रयासबाट सामुदायिक स्वास्थ्य सेवालाई जनताको घरदैलोसम्म पुज्याउने
(ख) सामुदायिक स्वाथ्यका सबै क्षेत्र समेट्ने गरी कार्यक्रम सञ्चालन गर्ने
(ग) योजनाबद्ध रूपमा मात्र कार्यक्रम सञ्चालन गर्ने
(घ) यसबाट प्रदान गरिने सेवा सुविधा गुणस्तरीय र प्रभावकारी बनाउनेतर्फ ध्यान केन्द्रित गर्ने
(घ) यससम्बन्धी योजना निर्माणमा समुदायलाई समेत सहभागी गराउने
(ङ) स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारले समन्वयात्मक रूपमा काम गर्ने।
३. नेपालमा विद्यमान स्वास्थ्य समस्या समाधानका लागि सामुदायिक स्वास्थ्य सेवाले खेल्न सक्ने भूमिकाको चर्चा गर्नुहोस् ।
उत्तर : नेपालका अधिकांश भूभाग ग्रामीण तथा दुर्गम भूभागका रूपमा रहेको छ। उक्त क्षेत्रमा थुप्रै स्वास्थ्य समस्या रहेका छन्। कतिपय स्थानमा त सामान्य उपचारसमेत पाउन सक्ने अवस्था छैन। ती स्थानमा कुपोषणको रोकथाम गर्न सकिएको छैन । वातावरणीय सरसफाइमा ध्यान दिन सकिएको छैन। खाद्य पदार्थको निरीक्षण र अनुगमन हुन सकेको छैन। सरुवा तथा महामारीको नियन्त्रण तथा रोकथामको कुनै पनि तयार छैन। स्वास्थ्य शिक्षा तथा खोप कार्यक्रम पनि चाहेको जस्तो प्रभावकारी र फलदायी बन्न सकेको छैन। ग्रामीण क्षेत्रमा मात्र होइन सहरी क्षेत्रमा समेत थुप्रै स्वास्थ्य समस्या रहेका छन्। नेपालका ग्रामीण तथा दुर्गम र सहरी क्षेत्रमा देखिएका विभिन्न स्वास्थ्य समस्या समाधान गर्नका लागि सामुदायिक स्वास्थ्य सेवाले प्रभावकारी भूमिका निर्वाह गर्न सक्छ। जुन ठाउँमा सामुदायिक स्वास्थ्य सेवा प्रभावकारी रूपमा कार्यान्वयन भएको छ त्यहाँका विभिन्न स्वास्थ्य समस्या समाधान पनि भएका छन् ।
कुनै पनि समुदायमा स्वस्थ्य वातावरण सिर्जना गर्नका लागि सामुदायिक स्वास्थ्यको भूमिका निकै महत्वपूर्ण हुन्छ । देश विकासका लागि आवश्यक पर्ने स्वस्थ्य जनशक्ति विकास गर्न सामुदायिक स्वास्थ्यको भूमिका उपयोगी र प्रभावकारी मानिन्छ । सहर, गाउँ वा दुर्गम क्षेत्र जहाँको पनि स्वास्थ्य समस्या समाधान गर्न एकल प्रयास मात्र पर्याप्त हुँदैन। यसका लागि सामुहिक प्रयास आवश्यक हुन्छ। सामूहिक प्रयास नै सामुदायिक स्वास्थ्य हो। यसले समुदायका स्वास्थ्य समस्या पहिचान गर्न, समाधान गर्न, जनचेतना अभिवृद्धि गर्न सहयोग गर्दछ ।
If you have any doubts, Please let me know